Listen LIVE

गुनासो सुन्न वालिङले सुरु गर्यो कल सेन्टर

स्याङ्जाको वालिङ नगरपालिकाले नागरिकका गुनासा सम्बोधन गर्न कल सेन्टर स्थापना गर्ने भएको छ ।

नागरिकका वैयक्तिक, पारिवारिक तथा सामुदायिक रूपमा आइपरेका समस्या र नगरपालिकाको कामकारबाहीका विषयमा सिधा सम्पर्क कायम गर्न कल सेन्टर स्थापना गर्न लागिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिएका छन्।

नगरपालिकाभित्रका १४ वटै वडामा नगरले गरेका काम र तिनका प्रभाव तथा आवश्यक जानकारी लिन कल सेन्टरले सहयोग पुग्ने नगरप्रमुख कृष्ण खाँणले विश्वास व्यक्त गरे ।

‘नागरिकका गुनासा धेरै हुन सक्छन् । ती गुनासालाई सहज रूपमा छिटो सुनुवाइ गर्न कल सेन्टर लाभदायी हुनेछ,’ उनले भने । नगरका गतिविधि नागरिकमाझ पुर्‍याउन नगरले प्रविधिको बढी मात्रामा प्रयोग गरेको उल्लेख गर्दै उनले सामान्य कामको लागि नागरिकले नगरपालिकाको कार्यालयसम्म आउनुपर्ने स्थिति नहुने बताए ।

कल सेन्टर स्थापनासँगै नपाको सुशासनमा पनि मद्दत पुग्ने कार्यालयले जनाएको छ । समयको मागअनुरूप नागरिकलाई सहज सेवा प्रवाह गर्न कल सेन्टर फलदायी हुने उनले बताए ।

वालिङ नगरपालिका देशकै स्मार्ट सिटी बन्ने उदेश्यले अघि बढिरहेको छ। 

प्रतिक्रिया