Listen LIVE

अर्जुनचौपारीको सदरमुकाममा 'ट्रस ब्रिज' निर्माण गरी संचालनमा


राम बहादुर रोकाहा/जेठ ३२:स्याङ्जा जिल्लाकै पुरानो बजार "कमले बजार" नामले परिचित अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम बजारस्थित दरौँखोलामा "ट्रस ब्रिज" निर्माण गरी संचालनमा ल्याइएको छ । 

अर्जुनचौपारी गाउँपालिकाको वडा न. १ र वडा न. २ जोड्ने ३०औं वर्ष अघि निर्माण गरिएको झोलुङ्गे पुल जिर्ण अवस्थामा पुगेको थियो । विद्यालय पढ्न बाध्यताले ओहोरदोहोर गर्ने स-साना बालबालिकालाई  निकै कठिन भएको सो पुललाई पटकपटक मर्मत गरेतापनी बर्खाको पानीले त्यहाँ रहेका काठका फलिकाहरु समेत कुहिएर दुर्घटना निम्त्याउने जोखिम थियो । वर्षाको समयमा जोकोही पुल वारपार गर्न हिम्मत गर्न सक्दैनथे , तल बगेको खोला अनि आवतजावत गर्दा दायाँबायाँ हल्लिने झोलुङ्गे पुलबाट कति सानासाना विद्यार्थीहरुको खुट्टा फलिकाभित्र छिर्थे , कतिका खुट्टामा लगाएका चप्पल बगाए त कयौंलाई चोटपटक समेत लाग्ने गरेको थियो ।

उक्त जटिल झोलुङ्गे पुलबाट मुख्य बजार ओहोरदोहोर गर्न, गाउँपालिकाले दिने सेवासुविधाबाट समेत बन्चित हुने समस्या आइसकेपछि "ट्रस ब्रिज" निर्माण गरि बुधबारदेखि संचालन गरिएको अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो "बिच बजारमा अवस्थित भएकाले लठ्ठा तानेर पुल निर्माण गर्न नमिल्ने भएपछी नै 'ट्रस ब्रिज'को कल्पना गरि निर्माण गर्यौँ ।"

बुधबारदेखि संचालनमा आएको पुल निर्माण गर्न संघिय सरकारको रु. २९ लाख , गाउँपालिकाको रु. २० र स्थानीयबासीको रु. १ लाख गरि कुल रु. ५० लाख लागतमा निर्माण सम्पन्न गरिएको उहाँले बताउनुभयो । उक्त पुलको लम्बाई ३२ मिटर रहेको छ ।

अर्जुनचौपारी बजार झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष क्याप्टेन रुद्र बहादुर थापाले सम्झौता भएको तीन महिनाभित्र नै काम सम्पन्न गरि हस्तान्तरण गरिएको जानकारी दिनुभयो । 

वर्षौंदेखि जिर्ण पुलबाटै ओहोरदोहोर गर्नुपर्ने बाध्यता थियो , 'ट्रस ब्रिज' निर्माण भएसङ्गै मानिसहरुको आवातजावतमा सजिलो भएको साथै दुर्घटना हुने जोखिम पनि हटेकाले स्थानीयहरुले सहज भएको महसुस गरेका छन् ।

प्रतिक्रिया